छेपारोहरु

छेपारोहरू

बडो गजब छ छेपाराहरुको चाल
रूप सधै फेरिरहन्छ ताल न बेताल।
गर्मी कुन हो जाडो कुन जान्दैन यसले
रूपलाइ फेरीरहन्छ निरन्तर सधै यसले।

वर्षा या खडेरी केही फरक छैन यसलाइ,
रूप फेर्न माहिर भेटदैन कसैले यसलाइ।
हरियो ठाउँ भेटे हरियो नै भइदिन्छ,
सुख्खा ठाउँ भेटे माटो झै खैरो भइदिन्छ।

झ्याउकिरीको गीत पनि यसले नै सुन्छ,
कोइलीको गीत पनि यसले नै सुन्छ।
छेपारोको बिशेषता नै रूप फेर्नु हो,
दुख र धोका दिनु नै यसको लक्ष हो।

स्वार्थ पूरा गर्न अनेक रूप फेर्दछ,
स्वार्थको लागि ढलभित्र पनि पस्दछ।
वास्ता गर्दैन परिश्रमी कमिलाहरुको,
बरू पाउ मोल्दछ पाखण्डी भ्यागुताहरुको।

के थाह त्यसलाइ कमिलाहरुको तागत,
कमिलाले एकदिन अवश्य हान्नेछ झापट।
त्यो दिन छेपारोले कुनै रुप फेर्न सक्ने छैन,
यसको बाच्ने कुनै उपायहरु पनि हुने छैन

अनि कसैले देख्ने छैनन छेपारोको चाल,
अनि हुदैन छेपारोको कुनै पनि ताल।
चारैतिर आउनेछ छेपारोको महाकाल
अनि हुनेछ अवश्य छेपारोको खुब बेहाल।

२०७४/१२/१२ आइतबार
चागुनारायण -२ झोैखेल भक्तपुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *