मेरो राष्ट्र नेपाल

रचना काल:-२०५१/०६/१८
मेरो राष्ट्र नेपाल

भक्ति थापा र भीमसेन थापा जस्ता
वीर योध्दाहरुले रगतको खोलो बगाउदै
फिरङ्गीहरुको पंजाबाट बचाइएको
गोैरवशाली मेरो राष्ट्र नेपाल

पिलपिल आँसु खशल्दै पीडाले छटपटाउदै
थिचोमिचो र अन्याय अत्याचारलाइ
हेर्न नसकी आँखा छोप्दै धुरु धुरु
रोइरहेको छ आज मेरो राष्ट्र नेपाल

सेतै दात देखाएर हासिरहने राष्ट्रकै मझेरीमा
लुकामारी खेल्दै हुर्केका हिंस्रक ब्वासाहरु
मेरो राष्ट्र नेपालको कलेजो मुटु चिथोर्न
होडबाजी गरिरहेकाछन रक्त पिपासुहरू

राष्ट्रको फोक्सो चुडाल्न खोज्ने स्यालहरु
रयाल चुहाउदै सलबलाउन थालेकाछन
राष्ट्रको आन्द्राभुडी खाने हुन्डारहरु
आँखा तन्काउदै चलबलाउन थालेका छन
मेरै दुखित राष्ट्र नेपालमा

सगरमाथा चुचुरोले चिनिएको मेरो राष्ट्र
महंगी हत्या र बलत्कारको नामले चिनिदैछ
सगरमाथा भन्दा अग्लो फोहरले चिनिदैछ
अन्धकारको देस भनेर चिनिन थाल्दैछ
मेरो राष्ट्र नेपाल।

हातमा बन्दुक बोकेर शान्तिको माला जप्नेहरु
बाघ र बोकालाइ एउटै खोरमा थुनेर
समानताको नारा फलाक्नेहरू
राष्ट्रियतालाइ दिल्लिमा पुराएर
राष्ट्रियताको मन्त्र जप्नेहरु

एकताको खोक्रो नारा दिएर
राष्ट्रलाइ डस्न फणा फिजाउदै
बीस अोकल्न तम्सिदैछन बिषालु गोमनहरु
मेरै दुखित राष्ट्र नेपालमा

मेरो राष्ट्रको गहना लुटिदैछ
मेरो राष्ट्रको पोशाक नंग्याइन्दैछ
मेरो राष्ट्रको अमृत सुकाइन्दैछ
मेरो राष्ट्रको सम्पत्ति खोसिन्दैछ

आज मेरो राष्ट्र आँसु बगाउदै
हात जोड्दै बिन्ति गर्दैछ
सर्बस्व लुटिएको सहन नसकी
आफ्नो प्राण बचाउन गुहार
माग्दैछ मेरो राष्ट्र नेपाल
चिच्याइरहेकोछ मेरो राष्ट्र नेपाल
बाच्न चाहिरहेको छ मेरो राष्ट्र नेपाल
हास्न चाहिरहेकोछ मेरो राष्ट्र नेपाल।

जनीकुमार थिलुङ राई
थुलुङ दूधकोसी-४ जुबू, सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल,भक्तपुर
मिति:-२०७५/०८/१७ गते सोमबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *